काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुटबल ग्राउण्ड नजिक दुर्घटनामा परेको हो ।
प्रहरीले दिएको जानकारीअनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनाका बेला बसमा ३३ जना सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको मोडल अस्पताल लालगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।