काठमाडौँ। बर्दियाको प्राकृतिक सौन्दर्य र जैविक विविधताले परिचित बढैयाताल क्षेत्रमा पहिलोपटक ‘बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालीन मेला–२०८३’ आयोजना हुने भएको छ ।
थारु पत्रकार संघ नेपाल, बाँके शाखाको आयोजनामा जेठ १ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने मेलाको मूल नारा ‘कृषि, पर्यटन र व्यापार स् बढैयाताल संरक्षणको आधार’ राखिएको छ । मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जागेश्वर सिंह थारुले बढैयाताल क्षेत्रको संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए । उनले बढैयाताल जैविक विविधताले भरिएको महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले यसको संरक्षण र दिगो विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । आयोजकका अनुसार मेलाले स्थानीय किसानका कृषि उत्पादनको बजारीकरण, घरेलु तथा साना उद्योगका सामग्रीको प्रवर्द्धन र स्थानीय व्यापार व्यवसायलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
साथै, यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै होटल, यातायात र साना व्यवसायलाई समेत चलायमान बनाउने विश्वास लिइएको छ । मेला मूल आयोजक समितिका व्यवस्थापक विक्रम क्षेत्रीका अनुसार मेलामा करिब ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ । मेला सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको उनले बताए । मेलामा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय उत्पादन बिक्री तथा विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिनेछन् । सांस्कृतिक संयोजक गोपाल गुप्ताका अनुसार सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले मेला अवधिभर सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइने जनाएको छ । मेला स्थलको निगरानी स्थानीय प्रशासन, सुरक्षा गार्ड तथा ड्रोन क्यामराबाट गरिनेछ । साथै, सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।