धनगढी । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख (मेयर) वीरेन्द्र भट्ट सवार सरकारी गाडी शनिबार मध्यरातमा धनगढीमा दुर्घटनामा परेको छ। ६ लेन सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा उक्त दुर्घटना भएको हो।
मेयर भट्ट आफैँले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ६०१ नम्बरको सरकारी स्कार्पियो गाडी सडक किनारको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ भने मानवीय क्षति भने भएको छैन।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनाको समयमा मेयर भट्टले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको छ। मापसे गरेर सवारी चलाएकै कारण नियन्त्रण गुमाउँदा गाडी रेलिङमा ठोक्किएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीले मेयरले मापसे गरेको पुष्टि भएपछि गाडी नियन्त्रणमा लिएर हाल कैलाली गाउँ चौकीमा राखेको छ। सार्वजनिक ओहोदामा रहेका व्यक्तिले नै सरकारी गाडीमा मापसे गरी सवारी चलाएको विषयले अहिले स्थानीय स्तरमा चर्चा र आलोचना बटुलेको छ।