काठमाडौँ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य नहुने बताएका छन् ।
शनिबार चितवन जाने क्रममा हेटौँडा–११ थानाभर्याङमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँग भएको भेटघाटमा उनले जनताको बसोबासको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले राज्यले जनतालाई विस्थापित गर्ने वा घर भत्काएर त्रास फैलाउने काम गर्न नहुने बताए । साम्पाङले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलो बैठकदेखि नै सुकुम्बासी र अव्यवस्थित बसोबासीका मुद्दा उठाउँदै आएको उल्लेख गरे । जनताको पक्षमा आवाज उठाउने काममा कहिल्यै पछि नपर्ने उनको भनाइ थियो ।
सरकारका राम्रा कामलाई समर्थन र गलत कामको विरोध गर्दै आएको बताउँदै उनले जनताको अधिकार र जीवनयापनको सवालमा निरन्तर खबरदारी गरिरहने बताए । उनले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र सुरक्षित रूपमा बसोबास गर्न पाउने मौलिक हक दिएको उल्लेख गर्दै सबै नागरिकले सम्मानपूर्वक घर बनाएर बस्न पाउनुपर्ने धारणा राखे । मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट भएर जनताको घर भत्काउने र विस्थापित गर्ने कदमविरुद्ध आवाज उठाउनुपर्ने उनको आग्रह थियो । साथै, जनताका समस्या सडकदेखि सदनसम्म उठाइरहने र दुःखमा साथ दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।