काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छिन् ।
कानून दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाइ सरकारको अथवा महाअभियोगको भयबाट न्यायाधीशहरु मुक्त हुनुपर्ने धारणा राखिन् ।
‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’
कार्यक्रममा उनले विधि र वैधानिक परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यबाट निरंकुशताको झल्को दिने बताइन् । उनले संरचना भत्काएर परिवर्तन खोज्दा सत्तामा रहनेको धित मरेपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने टिप्पणी गरिन् ।
उनले औचित्यको नाममा विधिलाई तलमााथि गर्ने कार्य विधिको शासनमा विश्वास गर्नेहरुका लागि असह्य हुने बताइन् । कार्यक्रममा उनले न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्ने बताउँदै यसका लागि न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुपर्ने धारणा राखिन् ।
सम्बोधनका क्रममा मल्लले प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायिक सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास भइरहेकोमा आशङ्का व्यक्त गरिन् । उनले न्यायलाई प्रतिस्थापन गर्न धम्काउने र तर्साउने दुष्प्रयास भए त्यसले अनित्यता निम्त्याउने चेतावनी दिइन् ।