काठमाडौं । बेलायतमा भएको स्थानीय चुनावमा सत्तारूढ लेबर पार्टीले ठूलो हार व्यहोरेपछि प्रधानमन्त्री सर केयर स्टार्मरमाथि दबाब बढेको छ ।
तर, उनले प्रधानमन्त्री पद छोडेर देशलाई अराजकतामा नधकेल्ने अडान लिएका छन् ।
इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका चुनावी नतिजाले स्टार्मरको नेतृत्वमाथि प्रश्न थप बलियो बनाएको बीबीसीले जनाएको छ ।
केही लेबर सांसदहरूले उनलाई पद छोड्ने समयसीमा तय गर्न आग्रह गरेका छन् । तर, उनका क्याबिनेट सहयोगीहरूले हाललाई समर्थन जनाइरहेका छन् ।
वेल्समा लेबरले सत्ता गुमाएको छ, जससँगै त्यहाँको २७ वर्ष लामो शासन अन्त्य भएको छ । स्कटल्यान्डमा भने एसएनपी सबैभन्दा ठूलो पार्टीका रूपमा कायम रहने देखिएको छ, यद्यपि उसले पूर्ण बहुमत हासिल गर्ने सम्भावना कम छ ।
इंग्ल्यान्डमा ‘रिफर्म यूके’ सबैभन्दा ठूलो दल बनेको छ । पार्टीले १४ सय भन्दा बढी सिट जित्दै लेबर र कन्जरभेटिभहरूको परम्परागत प्रभाव रहेका क्षेत्रहरूमा समेत काउन्सिल नियन्त्रणमा लिएको छ ।
बीबीसीको ‘प्रोजेक्टेड नेसनल सेयर’ अनुसार, हालको मत परिणामकै आधारमा आम चुनाव भए रिफर्म यूके २६ प्रतिशत मतसहित बेलायतको सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ । ग्रीन पार्टी १८ प्रतिशत मतसहित दोस्रो स्थानमा छ भने लेबर र कन्जरभेटिभ दुवै १७–१७ प्रतिशत मतसहित बराबरीमा रहेका छन् । यसले बेलायतका दुई प्रमुख दलको परम्परागत वर्चस्व कमजोर बन्दै गएको संकेत गरेको छ ।