काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धउजुरी आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।
समितिले शनिबार सूचना प्रकाशित गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएको ठान्ने व्यक्ति वा संस्थालाई स्पष्ट आधार, तथ्य र प्रमाणसहित १० दिनभित्र उजुरी पेश गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार उजुरी शिष्ट, मर्यादित र तथ्यपरक भाषामा लेखिएको हुनुपर्नेछ । उजुरी संसदीय सुनुवाइ समिति, सङ्घीय संसद् सचिवालय सिंहदरबारस्थित कार्यालय वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ।
उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने समितिले जनाएको छ । यद्यपि, उजुरीकर्ताको चाहनाअनुसार नाम गोप्य राखिने व्यवस्था पनि गरिएको छ ।
समितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरीहरू तोकिएको समयभित्र सङ्घीय संसद् सचिवालयमा पठाइदिन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
प्रधान न्यायाधीश नियुक्तिपूर्व हुने संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने संवैधानिक अभ्यासअनुसार समितिले सूचना जारी गरेको हो । अब प्राप्त उजुरीका आधारमा समितिले प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग छलफल तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।