काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा उनी औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । उनलाई पार्टी अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै किराँतीले जनताको चाहना र दबाबका कारण एकता सम्भव भएको दाबी गरे । उनले यो एकतालाई ऐतिहासिक क्षण भन्दै आफूहरू जनताको आदेशलाई स्वीकार गर्दै अघि बढेको बताए । उनका अनुसार, “यो एकता ऐतिहासिक घडी हो। जनताले दिएको दबाब र चाहनाअनुसार हामी एक भएका हौँ। आँखामा सपना, मनमा प्रतिबद्धता र काँधमा जिम्मेवारी बोकेर हामी यो चरणमा आइपुगेका छौँ।” उनले अब जनताको साथ र समर्थन आवश्यक रहेको उल्लेख गर्दै देश निर्माणको अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे । साथै, विगतका अनुभव र त्रुटिबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए ।