काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य तथा विकास साझेदारीका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विशेषगरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापन र दुई देशबीच सहकार्य विस्तार गर्ने सम्भावनाबारे उनीहरूबीच विचार आदानप्रदान भएको थियो । भेटका क्रममा मन्त्री पोखरेलले अस्ट्रेलियाका गुणस्तरीय उच्च शिक्षा कार्यक्रमसँग सहकार्य र साझेदारी गर्न नेपाल सकारात्मक रहेको बताएका थिए । उनले यस्ता कार्यक्रमलाई कानुनी रूपमा व्यवस्थित गर्न आवश्यक पहल गरिने विश्वास समेत व्यक्त गरे । मन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने उद्देश्यसहित नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालय शिक्षा सुधारमा अन्य विकास साझेदारसरह अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए । राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्दै अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक कार्यक्रम नेपालसँग साझेदारी गर्न चाहेको धारणा राखेका थिए ।