काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले शुक्रबार आयोजना गरेको ‘सहकारी अध्यादेश र यसले पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नियमित संसदीय प्रक्रियाबाट ऐन संशोधन गर्न लामो समय लाग्ने भएकाले अध्यादेशमार्फत तत्काल कानुनी सहजीकरण गरिएको स्पष्ट पारे । सचिव भुजेलले सहकारी क्षेत्रका समस्यालाई समाधान गर्न वैज्ञानिक र व्यवस्थित कानुन आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ विधेयकको मस्यौदा तयार गरिरहेको जानकारी दिए । उनले सरोकारवालासँगको छलफल र सुझावका आधारमा ऐनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
उनका अनुसार विगतमा सहकारी विभाग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच अधिकार क्षेत्रको अन्योल रहेकामा अध्यादेशले दुवै निकायको भूमिका स्पष्ट बनाएको छ । समस्याग्रस्त सहकारीको व्यवस्थापनलाई प्रभावकारी बनाउन भविष्यमा प्रत्येक संस्थाका लागि छुट्टाछुट्टै व्यवस्थापन समिति बनाउने योजना रहेको पनि उनले बताए । भुजेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तथा सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर अध्यादेश ल्याइएको जानकारी दिए । साथै सहकारी संस्थामा देखिएका विकृति र कमजोरीमा सञ्चालक, अभियान तथा नियामक निकाय सबै जिम्मेवार रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक डा। पुष्पराज शाहीले विगतका कानुनी र व्यवस्थापकीय कमजोरी सुधार गर्न प्राधिकरण सक्रिय रहेको बताए । उनले सहकारी संस्थाको विवरण अद्यावधिक गर्न वार्षिक इजाजत नवीकरणको व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी सहकारी महाशाखाका उपसचिव रघु महतले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ताका लागि सरकारले प्रारम्भिक रूपमा २५ करोड रुपैयाँ बिउ पुँजी उपलब्ध गराएको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यादेशका केही सकारात्मक पक्ष भए पनि सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाउने व्यवस्था उपयुक्त नभएको धारणा राखे । उनीहरूले सहकारीको वित्तीय कारोबारलाई प्रतिबन्ध लगाउनुको सट्टा स्पष्ट मापदण्ड बनाएर व्यवस्थित गर्नुपर्ने सुझाव दिएका थिए ।