काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङ्गी विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने बहानामा १५ हजार रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा परेका मस्राङ्गी विरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार नायब सुब्बा मस्राङ्गीले वैदेशिक रोजगार सम्बन्धी मुद्दा मिलापत्रका लागि अगाडि बढेको अवस्थामा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिएका थिए । उनले उक्त मुद्दामा तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराई मुद्दा मिलाइदिने र कारबाही टुङ्ग्याउने विषयमा सहजीकरण गरिदिने भन्दै १५ हजार रुपैयाँ घुस माग गरी लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।
अख्तियारले निज मस्राङ्गीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी गरेको छ । उक्त घुस रकमसहित आयोगको टङ्गालबाट खटिएको टोलीले उनलाई रङ्गेहात नियन्त्रणमा लिएको थियो ।