सल्यान । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार दिउँसो एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खस्दा सोही ठाउँका १७ वर्षीय प्रदीप विकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईका अनुसार दुर्घटना दिउँसो साढे १ बजे भएको थियो। दुर्घटनामा परेर सोही गाउँपालिकाका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूलाई थप उपचारका लागि बाँके रिफर गरिएको छ।
घटनास्थलमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ। कच्ची सडक र तीव्र गतिका कारण ट्याक्टर अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।