काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत विरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा मिलापत्र गराइदिने बहानामा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राउतले चेक अनादर (चेक बाउन्स) मुद्दाको मिलापत्र प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस माग गरेका थिए। घुस लिइसकेको अवस्थामा टंगालबाट खटिएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित शुक्रबार मुद्दा दायर गरेको हो।