काठमाडौंँ । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्माको घटनामा निष्पक्ष छानबिनका लागि अदालतका न्यायाधीशको नेतृत्वमा समिति गठन गर्न विभिन्न वक्ताहरूले माग गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जेनजी युनाइटेडले पीडित परिवारको जाहेरी दर्ता नगरेकोप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिन नभएसम्म संघर्ष जारी रहने जनाएको छ। संयोजक जनक परियारले लामो समयसम्म पनि जाहेरी नलिइनुले राज्यको संलग्नताबारे आशंका बढेको बताए। उनले देशभर दलित समुदायमाथि हिंसा बढिरहेको भन्दै सरकारको व्यवहारप्रति चिन्ता व्यक्त गरे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी नियन्त्रणमै नागरिकको मृत्यु गम्भीर विषय भएको भन्दै उच्च अदालतका न्यायाधीशको नेतृत्वमा न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। साथै दोषी प्रहरीलाई तत्काल निलम्बन गर्नुपर्ने उनको माग छ।वक्ताहरूले मानवअधिकार आयोगमार्फत घटनाको प्रमाण संरक्षण र स्थलगत अध्ययन आवश्यक रहेको पनि बताएका छन्। कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले दलित अधिकार, राज्यको जवाफदेहिता र न्याय सुनिश्चिततामा जोड दिँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।