काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको दमन रोक्न सरकारलाई आग्रह गरेका छन्।
वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले कानुन कार्यान्वयनको नाममा नागरिकलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने बताए। मुख्यमन्त्री कँडेलले वास्तविक अवस्था नबुझी सुकुम्बासी बस्ती हटाउने गतिविधिले सर्वसाधारणमा डर र अन्योल बढाएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित महसुस गर्न पाउनुपर्नेमा जोड दिए। उनले भूमिहीन तथा सुकुम्बासी समस्यालाई दीर्घकालीन र व्यवहारिक ढंगले समाधान गर्नुपर्ने धारणा राख्दै मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने बताए।त्यसैगरी उनले संघीय सरकारसँग समन्वय गर्दै विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताए।