काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना नेपाली अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार परराष्ट्र मन्त्रालय को प्रस्तावमा ती अवैतनिक कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरिएको हो। त्यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ। उक्त बैठकमा संघीय संसदका सदस्यहरूको उपस्थितिका लागि आह्वान गर्ने निर्णयसमेत गरिएको छ।
मन्त्रिपरिषद्का अन्य निर्णयहरू यसप्रकार रहेका छन्ः
१. वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष अनुरोध गर्ने।
२. विदेशस्थित १५ जना नेपाली अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतलाई पदमुक्त गर्ने।
३. अन्तर्राष्ट्रिय श्रम संगठन को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं। २९ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
४.अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ अनुमोदनका लागि पनि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।