काठमाडौँ। खाँडादेवी गाउँपालिका मा निर्माणाधीन पाँच शैय्याको पालिकास्तरीय अस्पताल भवन पाँच वर्षदेखि अधुरै अवस्थामा रहेको छ। चार वर्षअघि नै सञ्चालनमा आउनुपर्ने अस्पताल अझै निर्माण सम्पन्न हुन नसक्दा स्थानीय नागरिकले अपेक्षित स्वास्थ्य सेवा पाउन सकेका छैनन्।
गाउँपालिका–५ गोगनपानीमा निर्माण भइरहेको अस्पताल भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको स्थानीयको गुनासो छ। सुरुमा भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालन गर्ने योजना बनाइएको थियो भने पछि १५ शैय्यासम्म विस्तार गर्ने लक्ष्य राखिएको थियो। तर हालसम्म भवनको काम पहिलो तल्लामै सीमित भएको छ। पहिलो तल्लाको संरचनामा समेत आवश्यक फिनिसिङको काम पूरा हुन नसकेको र निर्माण प्रक्रिया लामो समयदेखि रोकिएको जनाइएको छ।
गाउँपालिकाले पटक–पटक बजेट विनियोजन गरे पनि निर्माणले गति लिन सकेको छैन। अस्पताल भवन तयार नहुँदा हाल स्वास्थ्य सेवा पकरबास स्वास्थ्य चौकी बाट सञ्चालन हुँदै आएको छ। त्यहाँ चिकित्सकसहित स्वास्थ्यकर्मीमार्फत आधारभूत सेवा प्रदान भइरहेको गाउँपालिकाले जनाएको छ। खाँडादेवी गाउँपालिकाभित्र रहेका १३ स्वास्थ्य इकाइले ९ वटै वडाका नागरिकलाई सेवा दिँदै आएका छन्। सुविधा सम्पन्न अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य भए पनि अस्पताल कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै निश्चित हुन सकेको छैन।