बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ एकलैनीबाट स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाँकेकै नरैनपुर गाउँपालिका–५ बस्ने २९ वर्षीय विरवल कुम्हार र वडा नम्बर ४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बिहीबार दिउँसो ६ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा लिएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध वित्तीय कारोबार हुन सक्ने आशंकामा निगरानी बढाइएको छ। पक्राउ परेका दुवै जनामाथि विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।