बैतडी । बैतडीको मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका छन्। बिहीबार साँझ सवा ५ बजे भएको उक्त दुर्घटनामा मन्त्री भट्ट भने सुरक्षित रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मन्त्री भट्ट सवार सु.प.प्र.०१–००१ झ ४५२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मानवीय क्षति नभए पनि मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको छ। घटनालगत्तै अस्थायी प्रहरी पोष्ट सलेनाबाट प्रहरी हवलदार रमेश भट्टको कमान्डमा खटिएको टोलीले घटनास्थलमा पुगी दुवै पक्षबीच छलफल गराएको थियो। छलफलपछि बस पक्षले मन्त्रीको गाडी मर्मत गरिदिने सहमति भएपछि विवाद टुङ्गिएको प्रहरीले जनाएको छ।