काठमाडौँ। मुक्त भएको लामो समय बितिसक्दा पनि अधिकार र व्यवस्थापन नपाएको भन्दै मुक्त कमलरी र वनकरिया समुदायले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन्।
पत्रकार सम्मेलन गर्दै उनीहरूले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, आवास तथा भूमिको सुनिश्चिततासहित पूर्ण अधिकारको माग गरेका छन्। मुक्त कमलरी विकास मञ्चकी नेतृहरूले मुक्त भएको करिब डेढ दशक बित्दा पनि व्यवहारिक न्याय नपाएको गुनासो गरे। कञ्चनपुर र कैलालीका प्रतिनिधिहरूले परिचयपत्र भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताए। त्यस्तै वनकरिया समुदायले आफूहरू बसोबास गर्दै आएको भूमिको स्थायी स्वामित्व र व्यवस्थापनको माग गरेका छन्। २० वर्षे अस्थायी सम्झौता सकिए पनि सरकारले स्थायी समाधान नदिएको उनीहरूको भनाइ छ। दुवै समुदायले सरकारले आफ्ना मागप्रति गम्भीर ध्यान दिई न्याय र स्थायी पुनःस्थापना गर्नुपर्ने माग गरेका छन्।