काठमाडौं । काठमाडौंको वटुस्थित ‘नैना एण्ड ईशान ज्वेलर्स’मा भएको लुटपाट प्रयासलाई विफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सञ्जिता शाक्य सम्मानित भएकी छन् । आफ्नो ज्यानको पर्वाह नगरी देखाएको अदम्य साहस र नागरिक दायित्वको उच्च कदर गर्दै नेपाल प्रहरीले उनलाई सम्मान गरेको हो। नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शाक्यलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन ।
गत वैशाख १७ गते दिउँसो काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीमा रहेको ज्वेलर्समा २ जना लुटेराहरूले पेस्तोल देखाई आतंक सिर्जना गरेका थिए। सो विषम परिस्थितिमा ज्वेलर्समा कार्यरत सञ्जिता शाक्यले विचलित नभई प्रतिकार गर्नुभएको थियो। उहाँको हिम्मत र आत्मविश्वासका कारण लुटेराहरूको योजना असफल भएको थियो।
सम्मान कार्यक्रममा सञ्जिता शाक्यले घटनाको अनुभव सुनाउँदै अपराधीहरूको हुलिया र सिसिटिभी फुटेज समयमै प्रहरीलाई उपलब्ध गराएकी थिइन् । उनको यो तदारुकताले अपराध अनुसन्धानमा प्रविधिको प्रयोग र नागरिक सक्रियता कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।
सम्मानमा कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले “सभ्य र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी अपरिहार्य छ। सञ्जिताजीले देखाउनुभएको साहस र जिम्मेवारीबोध सबैका लागि प्रेरणादायी छ।“ बताए ।