काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार र जवाफदेही प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।
उनले विभिन्न जनआन्दोलन र संघर्षमार्फत नेपाली जनताले देखाएको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा नेपाली पत्रकारिताले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने विश्वास व्यक्त गरे। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका हरेक चरणमा पत्रकारिताले उल्लेखनीय योगदान दिएको स्मरण गरे। उनका अनुसार संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको स्पष्ट प्रत्याभूति गरेको छ। त्यसैले पत्रकारले निर्भय र स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो। साथै, सत्यतथ्यमा आधारित सूचना प्रवाह गरी नागरिकलाई सही जानकारी दिनु जिम्मेवार पत्रकारिताको मूल कर्तव्य भएको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले पत्रकारिता राष्ट्र निर्माणको सशक्त माध्यम भएको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतान्त्रिक प्रणाली अपरिहार्य हुने बताए। उनले भने, लोकतन्त्र बिना स्वतन्त्र पत्रकारिता सम्भव हुँदैन, र स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र पनि पूर्ण हुन सक्दैन। उनले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिँदै सुरक्षित, जोखिमरहित वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्था निर्माणतर्फ सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। साथै, श्रमजीवी पत्रकारका अधिकार र सञ्चार माध्यमको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि उनले बताए।
उनले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको विस्तारले गलत तथा भ्रामक सूचनाको जोखिम बढाएको उल्लेख गर्दै यस्ता चुनौती सामना गर्नु आजको मिडिया क्षेत्रको प्रमुख जिम्मेवारी भएको बताए। कार्यक्रममा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरूलाई बधाई दिँदै उनीहरूको योगदानको प्रशंसा गरे। उनले यस्तो सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक निष्ठा र सत्य पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे। सो अवसरमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गरे भने भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरे।