काठमाडौँ। मनाङबाट थोरङला पास हुँदै मुस्ताङतर्फ आउँदै गरेका दुई भारतीय पदयात्रीलाई हिउँमा फसिएको अवस्थामा नेपाली सेना र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
बुधबार बारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत मुक्तिनाथ र थोरङला पास क्षेत्रमा परेको हिमपातका कारण भारतको केरलाका २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्रविन्दु बाटो हराएर चिसापानी क्षेत्रमै अलपत्र परेका थिए । हिमपातका कारण पदमार्ग पहिचान गर्न नसकेपछि उनीहरू अलपत्र परेको सूचना प्राप्त भएपछि उद्धार टोली परिचालन गरिएको थियो । साँझ करिब ८ बजे ड्रम क्याम्प आसपासबाट उनीहरूलाई फेला पारेर सुरक्षित रूपमा उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स गणले जनाएको छ । यसअघि राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै यात्रा गरिरहेका उनीहरू हिमपातका कारण बाटो भुली समस्यामा परेका थिए । उद्धार कार्यमा सेना र प्रहरीको संयुक्त टोलीले समन्वयात्मक रूपमा काम गरेको थियो।