काठमाडौँ । उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कामकारबाही र आगामी योजनाबारे छलफल गरिएको छ ।
बैठकमा बोल्दै श्रममन्त्री रामजी यादव ले घरेलु कामदारका रूपमा विदेशिने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले घरेलु कामदारलाई श्रम स्वीकृति दिने विषय प्रतिनिधिसभाबाट समितिमा पुगेको जानकारी दिँदै अध्ययनका क्रममा धेरै महिला कानुनी प्रक्रिया पूरा नगरी विदेशिने गरेको पाइएको बताए । उनका अनुसार महिला श्रमिकहरू भारत लगायत अन्य मुलुक हुँदै भिजिट भिसाको प्रयोग गरेर घरेलु कामदारका रूपमा विदेश जाने गरेका छन् । मन्त्री यादवले श्रम स्वीकृति बिना विदेश गएकाहरू सरकारको अभिलेखमा नरहने भएकाले समस्या पर्दा सहयोग गर्न कठिन हुने बताए ।
उनले विदेश पुगेपछि समस्या आए पनि धेरै महिला श्रमिकले राजदूतावाससँग सम्पर्क गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे । उनका अनुसार यस्ता कामदार कसरी र कसको माध्यमबाट विदेश पुगे भन्ने स्पष्ट विवरण सरकारसँग नहुने भएकाले आवश्यक तथ्यांकसमेत अभाव रहेको छ । मन्त्री यादवले ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा यस्तो अवस्था रहनु दुःखद भएको बताउँदै समस्याको समाधानका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान गरिरहेको जानकारी दिए । उनले घरेलु कामदारको क्षेत्र निकै संवेदनशील र जोखिमपूर्ण भएकाले समस्या परेका कामदारलाई ट्र्याक गर्नसमेत कठिन हुने बताए ।