काठमाडौँ । वीरगन्जमा भइरहेको सडक विस्तार कार्यको विरोध गर्दै स्थानीयवासीले बिहीबार प्रदर्शन गरेका छन् । त्रिभुवन राजपथअन्तर्गत सहरको मुख्य क्षेत्रमा २५–२५ मिटर सडक विस्तार गर्ने कार्य विभेदकारी भएको भन्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध जनाएका हुन् ।
वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०ः३० बजेसम्म मानव साङ्लो प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागी वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले सडक विस्तारका क्रममा वीरगन्जवासीमाथि अन्याय गरिएको आरोप लगाए । उनका अनुसार त्रिभुवन राजपथअन्तर्गत हेटौँडामा २५ गजका आधारमा सडक विस्तार गरिएको भए पनि वीरगन्जमा भने २५ मिटर विस्तार गरेर स्थानीयमाथि विभेद गरिएको हो ।
सरावगीले सडक विस्तार कुन नक्सा र मापदण्डका आधारमा भइरहेको हो भन्ने स्पष्ट जानकारी नदिई प्रशासनले मनपरी ढंगले रेखांकन गरिरहेको दाबी गरे । उनले त्रिभुवन राजपथको पुरानो नक्साअनुसार काम हुनुपर्ने बताए । त्यस्तै, वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले घण्टाघरदेखि माइस्थानसम्म गरिएको सडक रेखांकन अस्पष्ट रहेको आरोप लगाए । सडकको वास्तविक केन्द्रबिन्दु र प्रयोग गरिएको नक्साबारे स्पष्ट जानकारी नदिई घर भत्काउने काम भइरहेको उनको भनाइ थियो । प्रदर्शनमा वृद्धवृद्धा, महिला, युवा तथा बालबालिकाको समेत उल्लेख्य सहभागिता रहेको थियो । स्थानीयका अनुसार सडक विस्तार कार्यका कारण ७ सयभन्दा बढी व्यक्ति घरबारविहीन हुने जोखिममा छन् ।