काठमाडौँ। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी र व्यापारीहरूले आन्दोलन गरेका छन् । आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित भएको छ ।
नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयले सीमावर्ती व्यापार र स्थानीय अर्थतन्त्रमा असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । प्रदर्शनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित चोकमा सडकको बीचमा अवरोध सिर्जना गर्दै बिहान करिब ८ः३० बजेदेखि राजमार्ग बन्द गरेका छन् । सडक अवरुद्ध भएपछि पूर्व–पश्चिमतर्फका सवारी साधन लामो समयसम्म रोकिएका छन् ।
स्थानीय व्यापारीहरूले भन्सार कार्यालय बन्द हुँदा व्यापार, राजस्व संकलन तथा दैनिक आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने बताएका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले आन्दोलनकारीसँग छलफल भइरहेको र सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन् । प्रहरी प्रमुख एसपी बासुदेव पाठक समेत घटनास्थलमा पुगेका छन् ।