इलाम । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापु नजिकैको तालपोखरी जंगलमा एक मानव कंकाल फेला परेको छ। बुधबार गाईगोरु चराउन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही जानकारीका आधारमा बिहीबार प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार शवको अधिकांश भाग हाडखोरमा परिणत भइसकेको छ भने टाउको र खुट्टामा मात्र केही मासु बाँकी रहेको बीभत्स अवस्थामा फेला परेको हो। शवको साथबाट नाम र थर उल्लेख भएको एनएमबी बैंकको एउटा चेकबुक समेत फेला परेको बताइएको छ, जसले मृतकको पहिचान खुलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी भण्डारीले फेला परेको शवको सन्दर्भमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । जंगलको बीचमा अलपत्र अवस्थामा फेला परेको उक्त शव कसको हो र मृत्युको कारण के हो भन्नेबारे विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।