काठमाडौँ । हाइड्रो इन्जिनियर सुरज पाण्डेले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र आर्थिक स्वाधीनताका लागि १२ हजार मेगावाट विद्युत् उत्पादनको स्पष्ट राष्ट्रिय लक्ष्य निर्धारण गर्नुपर्ने बताएका छन्।
उनका अनुसार नेपालको ऊर्जा सामर्थ्यलाई रणनीतिक रूपमा उपयोग गर्दै ४ हजार मेगावाट विद्युत् आन्तरिक घरधुरीमा भरपर्दो आपूर्तिका लागि, अर्को ४ हजार मेगावाट विद्युतीय सवारी, हरित हाइड्रोजन तथा औद्योगिक क्षेत्रको विस्तारका लागि र बाँकी ४ हजार मेगावाट विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन तथा आर्थिक आत्मनिर्भरता सुदृढ गर्न प्रयोग गरिनु आवश्यक छ।
इन्जिनियर पाण्डेले उत्पादन वृद्धिसँगै सुरक्षित प्रसारण पूर्वाधार, प्रभावकारी वितरण प्रणाली र दीर्घकालीन ऊर्जा व्यवस्थापनलाई समान प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। उनले ऊर्जा क्षेत्रलाई केवल विद्युत् उत्पादनको विषयका रूपमा नभई राष्ट्रिय विकास, औद्योगिकीकरण र रणनीतिक सुरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे। उनले सुरक्षित पूर्वाधारसहित दिगो ऊर्जा सुरक्षा सुनिश्चित गर्नु वर्तमान नेपालको प्रमुख आवश्यकता भएको पनि बताए।