काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिक चिकित्सकलाई दर्ता वा नवीकरण गरेर मात्रै चिकित्सकीय अभ्यास गर्न आग्रह गरेको छ ।
बुधबार काउन्सिलले विज्ञप्ति जारी गर्दै नेपालभित्र केही विदेशी नागरिक चिकित्सकहरूले काउन्सिलमा विधिवत दर्ता नगरी वा दर्ता नवीकरण नगरी चिकित्सकीय अभ्यास गरिरहेको भन्ने जनगुनासो तथा उजुरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
"नेपालभित्र केही विदेशी नागरिक चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलमा विधिवत दर्ता नगरी वा दर्ता नवीकरण नगरी चिकित्सकीय अभ्यास गरिरहेको भन्ने जनगुनासो तथा उजुरीहरूप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा भनिएको छ ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ अनुसार विदेशी नागरिक चिकित्सकहरूले नेपालमा चिकित्सकीय सेवा प्रदान गर्नुपूर्व नेपाल मेडिकल काउन्सिलमा अनिवार्य रूपमा दर्ता हुनु तथा समयमै दर्ता नवीकरण गर्नु पर्ने कानुनी व्यवस्था छ ।
