काठमाडौं । प्रतिक्षित नेपाली चलचित्र ’लालीबजार’ को प्रदर्शनमा रहेको कानुनी अड्चन हटेको छ। उच्च अदालत पाटनले यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेसँगै चलचित्र प्रदर्शनका लागि बाटो खुलेको हो। न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बुधबार यस्तो आदेश सुनाएको हो।
अदालतले रिट निवेदनमा माग गरिएको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा थप विचार गर्न सकिने भन्दै वैशाख १५ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको छ। यसअघि न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले चलचित्र प्रदर्शनमा रोक लगाउने गरी अन्तरिम आदेश दिएको थियो । रोशनी नेपालीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले कारण देखाऊ आदेश समेत जारी गरेको थियो।
चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा भए पनि कानुनी विवादका कारण रोकिएको थियो । यम थापाको निर्देशनमा तयार भएको यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे र आशा पौडेल लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। अदालतको पछिल्लो निर्णयसँगै निर्माण पक्षलाई राहत मिलेको छ।

