काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई प्राधिकरणको नेतृत्व सुम्पिएका हुन्। यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकको रूपमा कार्यरत थिए।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य ’सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि रिक्त रहेको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो। सरकारले ल्याएको नयाँ अध्यादेशको प्रावधानबमोजिम शाक्य पदमुक्त भएलगत्तै मन्त्रालयले प्राधिकरणको आन्तरिक व्यवस्थापन र सेवा प्रवाहलाई निरन्तरता दिन वरिष्ठता र कार्यदक्षताका आधारमा श्रेष्ठलाई जिम्मेवारी दिएको जनाएको छ।
नवनियुक्त निमित्त कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् वितरण प्रणालीको सुधार, ग्राहक सेवामा गुणस्तर अभिवृद्धि र प्राधिकरणका आगामी योजनाहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। वैशाख २३ गते भएको यस नियुक्तिसँगै प्राधिकरणले नयाँ नेतृत्व पाएको छ।