काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाबाट अन्जन श्रेष्ठ नयाँ अध्यक्षमा चयन भएका छन्। महासङ्घको मौजुदा विधानअनुसार अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुरूप श्रेष्ठले नेतृत्व सम्हालेका हुन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियाको अन्तिम मतगणना परिणामअनुसार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार निर्वाचनमार्फत विभिन्न समूहका उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्। जसअन्तर्गत जिल्ला तथा नगरतर्फको दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। त्यसैगरी, वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे निर्वाचित भएका छन्। नवनिर्वाचित नेतृत्वले नेपालको निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधारका एजेन्डा र देशमा व्यवसायमैत्री वातावरण निर्माणमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
महासङ्घको विधानमा गरिएको पछिल्लो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने यो अन्तिम पटक हो। अब आउने आगामी महाधिवेशनदेखि भने अध्यक्ष पदका लागि पनि प्रत्यक्ष निर्वाचन हुने वैधानिक व्यवस्था गरिएको छ। नयाँ कार्यसमितिको चयनसँगै निजी क्षेत्रले मुलुकको वर्तमान आर्थिक शिथिलता अन्त्य गर्न सरकारसँग प्रभावकारी समन्वय गर्ने अपेक्षा गरिएको छ।
