काठमाडौँ । प्रहरीले बैंकिङ कसुर र चेक अनादर मुद्दामा संलग्न रही फरार रहेका तीन जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन्।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ३३ वर्षीय पंकज साहलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ घर भई हाल धरान उपमहानगरपालिका–१७ बस्ने साहलाई जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय धरानको समन्वयमा पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत संखुवासभाबाट ५ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चेक अनादर मुद्दामा फरार रहेका अन्य दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल सातदोबाटो बस्ने ४७ वर्षीय पुर्ण बहादुर डिम्डुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत मकवानपुरले २०८१ माघ १३ गतेको फैसलामार्फत २ वर्ष कैद सजाय सुनाएको थियो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुर पठाइएको छ।
त्यस्तै, तेह्रथुम फिदिम नगरपालिका–४ घर भई हाल भीमसेनगोला बस्ने ५८ वर्षीया सलिजा कान्दङवालाई काठमाडौँबाट मंगलबार पक्राउ गरिएको प्रहरीले ेजनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पाँचथरमा पेश गरिएको प्रहरीले नेपाल प्रहरीसमचार कक्षले जानकारी दिएको छ ।