काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नयाँ चलचित्र ‘छ माया छपक्कै २’ को छायांकन सुरु गरेको छ । बुधबारदेखि काठमाडौँको गागलफेदीबाट यस चलचित्रको औपचारिक छायांकन प्रारम्भ गरिएको हो ।
फिल्मको पहिलो दिन मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीको दृश्यहरू खिच्दै सुटिङ सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र सन् २०१९ मा प्रदर्शन भई व्यावसायिक सफलता हासिल गरेको ‘छ माया छपक्कै’ को दोस्रो श्रृङ्खला हो ।
पहिलो भाग जस्तै यो चलचित्र पनि सामाजिक र राजनीतिक कथावस्तुमा आधारित रहनेछ । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । फिल्ममा दीपक र केकीका साथै सनिशा भट्टराईको पनि मुख्य अभिनय रहनेछ ।
निर्माण नियन्त्रक धीरज चापागाईंका अनुसार फिल्मको छायांकन दुई चरणमा सम्पन्न गरिने योजना छ । कुल ५० दिनको कार्यतालिका सहित फ्लोरमा निस्किएको यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । ’रोहित अधिकारी फिल्म्स’ र ’आमा सरस्वती मूभिज’ को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको प्रस्तुतकर्ता आइएमई रहेको छ ।
निर्माण टोलीले यस चलचित्रलाई आगामी दशैँको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दीपक–दीपाको अघिल्ला फिल्महरू झैँ यसले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।