काडमाडौँ । इराकमा आएको तीव्र धुलो आँधी र वायुमण्डलीय प्रदूषणका कारण ठूलो संख्यामा स्वास्थ्य समस्या देखिएको छ। देशका विभिन्न प्रान्तहरूमा कम्तीमा १,१३३ जना मानिस श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन्।
इराकको स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावितहरूमा दम घुट्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएका छन्। समयमै उपचार उपलब्ध गराइएकाले अहिलेसम्म कुनै पनि मृत्यु नभएको र अधिकांश बिरामी सामान्य उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र अल–मुथन्ना प्रान्त रहेको छ, जहाँ ५७६ जना बिरामी परेका छन्। त्यसपछि नजफमा ३०० जना र राजधानी बग्दादमा करिब २०० जना प्रभावित भएका छन्।
ती क्षेत्रमा धुलोको घनत्व अत्यधिक बढेपछि दृश्यता घट्नुका साथै हावा श्वास लिनसमेत कठिन बनेको बताइएको छ। विशेषज्ञहरूका अनुसार इराक जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशमध्ये एक हो। पछिल्ला वर्षहरूमा धुलो आँधीको आवृत्ति र तीव्रता बढ्दैगएको छ, जसले जनस्वास्थ्य, यातायात र दैनिक जीवनमा गम्भीर असर पारिरहेको छ। यस प्रकारका धुलो आँधीहरूले अस्पतालहरूमा बिरामीको चाप अचानक बढाउने र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन स्वास्थ्य जोखिम पनि बढाउने देखिएको छ।