काठमाडौँ । सफल नेपाली एक्सन फिल्म श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ। निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको सुटिङ बुधबार गीत छायांकनबाट सुरु गरिएको हो।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवन लगायत विभिन्न स्थानमा हुनेछ। दशैंको फूलपातीको अवसरमा फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ। फिल्ममा बिराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्व लगायत कलाकारको अभिनय रहनेछ। छायांकन पक्षमा डीओपी महेश पौडेल रहेका छन् भने कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्।
एक्सन दृश्यको कोरियोग्राफी ईस्टनर सिल्वा र शंकर महर्जनले गर्नेछन्। फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन्। संगीतमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनालको योगदान रहनेछ। गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ। निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्। उपत्यकामा काफिया फिल्म्स प्रा।लि। र उपत्यका बाहिर कुबेर फिल्म्सले वितरणको जिम्मा लिएका छन्। एक्सन र मनोरञ्जनको मिश्रण रहने अपेक्षासहित ‘१२ गाउँ २’ दर्शकमाझ प्रतिक्षित बनेको छ।