काठमाडौँ। हेटौँडा मा “व्यवसाय र मानव अधिकार” विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रमा हुने मानवअधिकार उल्लङ्घन, त्यसका चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री ले मकवानपुरका विभिन्न क्षेत्रमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार होटल, डान्सबारदेखि सिमेन्ट उद्योगसम्मका क्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुव्र्यवहारका घटना देखिँदै आएका छन्। एसपी खत्रीले भने, “सुरक्षा निकाय नै सुरक्षित छैन भने नागरिक कसरी सुरक्षित हुन्छन् ?” भन्दै वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाए।
उनले कानुन कार्यान्वयनमा सरोकारवाला निकायबीच समन्वयको कमी र कमजोर अनुगमनका कारण यस्ता समस्या बढिरहेको बताए। साथै उद्योगी तथा व्यवसायीलाई कानुनी मापदण्ड पालना गर्न आग्रह गर्दै मानवअधिकार संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। प्रहरीले अनुगमन बढाउने, उजुरी प्रणालीलाई प्रभावकारी बनाउने तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए। कार्यक्रममा सहभागीहरूले व्यवसाय सञ्चालनका क्रममा मानवअधिकारको सम्मान अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए। मकवानपुरमा बढ्दो उल्लङ्घनका घटनाले नागरिकमा असुरक्षाको भावना बढाएको भन्दै सम्बन्धित निकायलाई तत्काल कदम चाल्न सुझाव दिइएको छ।