काठमाडौँ। डोल्पा जिल्ला का विभिन्न पाटनहरू जेठ १० गतेदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिने भएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत मंगलबार बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।
निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेन का अनुसार निकुञ्ज तथा डिभिजन वन क्षेत्रभित्रका सबै पाटन सर्वसाधारणका लागि खुला गरिनेछ। यार्सागुम्बा संकलनका लागि प्रवेश अनुमति तीन वर्गमा विभाजन गरिएको छ। मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि ५०० रुपैयाँ (क वर्ग), डोल्पा जिल्लाभित्रका नागरिकका लागि २ हजार रुपैयाँ (ख वर्ग) र बाहिरका नागरिकका लागि ३ हजार रुपैयाँ (ग वर्ग) शुल्क तोकिएको छ।
मध्यवर्ती र जिल्लाभित्रका बासिन्दाले प्रवेशका लागि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्नेछ। परिचयपत्र नभएमा बाहिरका लागि तोकिएको शुल्क लागू हुनेछ। यार्सा संकलनका लागि जेठ ५, ६ र ७ गतेभित्र सम्बन्धित पाटन प्रवेश शुल्क बुझाइसक्नुपर्नेछ। साथै १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई यार्सापाटन प्रवेशमा निषेध गरिएको छ। डोल्पा, जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लाबाट प्रत्येक वर्ष हजारौँ मानिस यार्सागुम्बा संकलनका लागि उच्च हिमाली क्षेत्रतर्फ जाने गर्छन्।