काठमाडौँ । पशुपति क्षेत्र बाट उद्धार गरिएका सडकमा बस्दै आएका सहयोगापेक्षी व्यक्तिहरूको अवस्था पहिचान गर्न ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रम को सहकार्यमा वडा नं.८ तिलगंगामा वैशाख २३ गतेदेखि सेन्टर सञ्चालनमा आएको हो। पहिलो दिन नै ३६ जनालाई उद्धार गरिएकोमा २८ जनालाई सेन्टरमा राखिएको छ भने ६ जना भने भित्र पुगेपछि पर्खाल नाघेर भागेका थिए। मंगलबार सुनिता डंगोल ले सेन्टरको निरीक्षण गर्दै त्यहाँको पूर्वाधार, व्यवस्थापन र सेवा सुविधाबारे जानकारी लिएकी थिइन्। उनले सहयोगापेक्षी व्यक्तिहरूलाई श्रम गर्न सक्नेहरूलाई रोजगारीतर्फ उन्मुख गराउने र असहाय तथा बेवारिसेलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्य रहेको बताइन्। साथै, पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिइने उनको भनाइ थियो।
उद्धार गरिएका व्यक्तिहरूसँग उनले व्यक्तिगत अवस्था, सडकमा आउनुको कारण र आवश्यक सहयोगबारे जानकारी लिएकी थिइन्। साथै, बिरामी व्यक्तिहरूको उपचार व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। सुवासचन्द्र जोशी ले सेन्टरलाई थप व्यवस्थित र सुरक्षित बनाउन आवश्यक काम अघि बढाइने जानकारी दिए। त्यस्तै, कृष्ण पौडेल का अनुसार उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरले टोकेर घाइते भएका छन्। साथै, ह्विलचेयर तथा वैशाखी प्रयोग गर्ने व्यक्तिहरूलाई पनि सेन्टरमा ल्याइएको छ। उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी पुरुष रहेका छन्। उमेरका हिसाबले २५ वर्षदेखि ७८ वर्षसम्मका व्यक्तिहरू रहेका छन्। उनीहरू विभिन्न जिल्ला जस्तै सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखाबाट आएको पाइएको छ।