काठमाडौँ। बिपी राजमार्ग अन्तर्गत खुर्कोट देखि भकुण्डेबेँसी सम्मको सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले मंगलबार सूचना जारी गर्दै जोखिमलाई ध्यानमा राखी उक्त समयमा पूर्णरूपमा यातायात बन्द गरिएको जनाएको हो। प्रशासनका अनुसार वर्षायाममा रोशीखोला मा अचानक बाढी आउन सक्ने भएकाले रातिको यात्रा असुरक्षित हुने देखिएको छ। साथै, पानी परेपछि अवस्था झनै जोखिमपूर्ण बन्ने हुँदा आवश्यकताअनुसार अन्य समयमा पनि छोटो अवधिका लागि सडक बन्द गर्न सकिने उल्लेख गरिएको छ। यसअघि सोमबार राति रोशीखोलामा आएको बाढीका कारण ५ वटा माइक्रोबससहित ८९ जना यात्रु फसेका थिए। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को संयुक्त टोलीले सुरक्षित उद्धार गरेको थियो।
त्यस क्रममा सुरक्षाकर्मीको निर्देशन बेवास्ता गर्दै सवारी चलाएको आरोपमा ती माइक्रोबसका ५ जना चालकलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वर्षायाममा बिपी राजमार्ग प्रयोग गर्दा पूर्व सूचना लिएर र सुरक्षाकर्मीको सुझाव पालना गर्दै मात्र यात्रा गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। हालसम्म गत वर्षको बाढीले क्षति पुर्याएको सडक पूर्णरूपमा मर्मत नभएकाले खोलामार्फत नै यातायात सञ्चालन हुँदै आएको छ, जसका कारण बाढी आउँदा सडक बारम्बार अवरुद्ध हुने गरेको छ।