काठमाडौँ । नेपाल बिमा प्राधिकरण को सञ्चालक समिति अध्यक्ष वा सदस्य बन्न अब इञ्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरू पनि योग्य ठहरिने भएका छन्। सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्दै बिमा ऐन २०७९ मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो।
यसअघि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य थियो। अब भने सो सूचीमा इञ्जिनियरिङ विषय पनि थपिएको छ। संशोधनपछि पनि अध्यक्ष वा सदस्य बन्न उच्च नैतिक चरित्र भएको र कानुनअनुसार अयोग्य घोषित नभएको हुनुपर्ने प्रावधान भने यथावत राखिएको छ। उक्त अध्यादेश गत आइतबार नै प्रमाणीकरण भइसकेको छ।