काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया सरिता तिवारीको हत्या गरी जंगलमा गाडिएको अवस्थामा शव भेटिएको हो।
मृतक तिवारी गत वैशाख ११ गते बिहान घरबाट निस्केकी थिइन्। उनी भोलिपल्टसम्म पनि घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रहरीले खोजी कार्य र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोमबार टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट सरिताको हत्यामा डंगोलको संलग्नता देखिएको प्रहरीले जनाएको छ। हाल मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ भने घटनाको थप कारण र अन्य पक्षबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।