डोल्पा । डोल्पामा १० जेठदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिने भएको छ । जिल्ला सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले आगामी १० जेठदेखि जिल्लाका सबै पाटनहरू खुला गर्ने निर्णय गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
‘गत वर्षभन्दा यो पटक अलि ढिलो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रमुख सेनले भने, ‘ आज बसेको बैठकमा एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’ उनका अनुसार यार्सागुम्बा संकलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय ‘क वर्ग’ , डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार ‘ख’ वर्ग र जिल्ला बाहिरकालाई तीन हजार ‘ग’ वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।
मध्यवर्ती क्षेत्र र जिल्ला भित्रका बासिन्दालाई प्रवेश शुल्कको लागि अनिवार्य परिचयपत्र देखाउनु पर्नेछ । ‘ग’ वर्गकालाई भने प्रवेश शुल्क लाग्ने छ । यार्सा संकलनका लागि ५,६,७ जेठमा सम्बन्धित पाटनका क्षेत्रमा शुल्क तिर्नु पर्नेछ ।