काठमाडौँ। सन् २०२६ को अप्रिल महिनामा नेपालमा विदेशी पर्यटक आगमन घटेको छ। नेपाल पर्यटन बोर्ड ले सार्वजनिक गरेको तथ्यांकअनुसार सो महिनामा कुल १ लाख ७ हजार ९३४ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा कम हो।
तथ्यांकअनुसार सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए भने सन् २०१९ (कोभिड–पूर्व अवधि) मा १ लाख ९ हजार ३९९ पर्यटक आगमन भएको थियो। यसले पर्यटन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन नसकेको संकेत गरेको छ। क्षेत्रगत रूपमा दक्षिण एसिया सार्क बाट सबैभन्दा धेरै ३३ हजार ४३२ (करिब ३१ प्रतिशत) पर्यटक आएका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन्।
देशगत रूपमा भारत पहिलो स्रोत बजार बनेको छ भने चीन दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन्। भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन्। विशेषज्ञहरूका अनुसार पश्चिम एसियामा देखिएको भू–राजनीतिक तनाव, हवाई उडानमा आएको अवरोध र अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमीले पर्यटक आगमन प्रभावित भएको हो। पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन र नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने रणनीति आवश्यक रहेको सुझाव दिइएको छ।