काठमाडौँ । परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘महाराजधिराज’को मंगलबार शुभ मुहूर्त गरिएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा फिल्मको मुहूर्त गर्दै आगामी वैशाख २५ गतेदेखि छायांकन सुरु हुने जानकारी दिइएको हो।
सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गरिने यस फिल्ममा नेपाली चलचित्र क्षेत्रका चल्तीका कलाकारहरूको ठुलो समूह देखिनेछ। फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, केकी अधिकारी, पुष्प खड्का, पूजा शर्मा, उषा रजक, नीर शाह, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, र दिनेश डिसी लगायतको मुख्य भूमिका रहनेछ। फिल्मको कथावस्तु अभिनेता पुष्प खड्काको वरिपरि घुम्ने निर्माण पक्षले जनाएको छ।
छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। उनले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। विष्टका अनुसार फिल्मको छायांकन करिब ७५ दिनसम्म चल्नेछ र यसमा भिएफएक्सको काम पनि धेरै हुनेछ। छायांकन र प्राविधिक काम समयमै सम्पन्न भएमा फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ।
दुई वर्षको लामो तयारीपछि निर्माण सुरु गरिएको यस फिल्ममा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माताको रूपमा रहेका छन्।
