काठमाडौँ । नेपाली चलचित्र लालीबजार सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि तय गरिएको छ। उच्च अदालत पाटन का न्यायाधीश गीता प्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत चलचित्रको सेन्सर कपी पेश गर्न आदेश दिएको हो।
मंगलबार भएको प्रारम्भिक सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा जारी गरेको प्रदर्शन रोक्का आदेशबारे छलफल गर्दै सक्कल कपी माग गरेको छ। सोही कपीको आधारमा बुधबार हुने सुनुवाइमा चलचित्र प्रदर्शनबारे अन्तिम निर्णय गरिनेछ। निर्देशक यम थापाको निर्देशनमा बनेको उक्त चलचित्र १८ वैशाखदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो। तर अदालतको आदेशपछि प्रदर्शन रोकिएको हो। आमा र छोरीको सम्बन्धमा आधारित यस चलचित्रमा कुनै समुदाय विशेषलाई लक्षित गरी आपत्तिजनक संवाद वा दृश्य नरहेको दाबी निर्माण पक्षले गरेको छ।
यसबारे आयोजित पत्रकार सम्मेलनमा अभियन्ताहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए। चलचित्र निर्माण संस्था षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्महरू निर्माण गरिसकेको छ। यसपटक भने निर्देशनको जिम्मेवारी यम थापालाई दिइएको हो। यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्। फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद उनी र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका छन्। निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन्।