काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमै पर्ने खुम्बुपासाङल्यामु गाउँपालिका–३ स्थित ठाडोकोशीको ‘नाछिपाङ पुल’ जीर्ण बन्दै गएपछि जोखिम बढेको छ। यही मार्गबाट दैनिक सयौँ पर्यटक, स्थानीय बासिन्दा, भरिया र खच्चड आवतजावत गर्न बाध्य छन्।
खुम्बु क्षेत्रमा ढुवानीका विकल्प सीमित हुँदा–खच्चड, भरिया वा हेलिकप्टर–यो पुल सबैका लागि अनिवार्य बनेको छ। विद्यार्थी र शिक्षकसमेत यही बाटो प्रयोग गर्छन्। तर करिब २६–२७ वर्षअघि बनेको पुलको अवस्था अहिले कमजोर बन्दै जाँदा जुनसुकै बेला दुर्घटना हुन सक्ने खतरा बढेको छ। स्थानीयका अनुसार पुलमुनि बग्ने खोला नभई सुख्खा पहिरो रहेकोले संरचनागत जोखिम अझ बढेको छ। लाक्पा शेर्पाले सानो उमेरमा बनेको यो पुल अहिलेसम्म ठोस मर्मतबिना प्रयोग भइरहेको बताइन्। कहिलेकाहीँ गरिएको मर्मत पनि बाहिरी तारजालीमा सीमित रहेको उनको गुनासो छ।
यससँगै सरसफाइको समस्या पनि देखिएको छ। खच्चडको आवतजावतका कारण पुल र आसपासको बाटो दुर्गन्धित बन्दै गएको छ, जसले विशेषगरी विदेशी पर्यटकलाई असहज बनाएको छ। स्थानीय होटल व्यवसायी पासाङ शेर्पाले समस्या समाधानका लागि राज्यले नै अग्रसरता लिनुपर्ने बताए। “हामी श्रमदान गर्न तयार छौँ, तर ठोस पहल आवश्यक छ,” उनले भने। भरिया सन्जिव विकका अनुसार एउटै समयमा धेरै खच्चड आवतजावत गर्दा पुल पार गर्न लामो समय कुर्नुपर्छ, जसले यात्रालाई थप कठिन बनाएको छ। नेपालको प्रमुख पर्यटन गन्तव्य सगरमाथा पुग्ने बाटोमै यस्तो जोखिमपूर्ण अवस्था रहनु गम्भीर चिन्ताको विषय बनेको छ। सुरक्षित र बलियो नयाँ पुल निर्माण तथा वैकल्पिक मार्गको व्यवस्था तत्काल आवश्यक देखिएको छ।