काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर बाँकी नतिरेका ऋणीहरूलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।
मंगलबार प्रकाशित सूचनामा समितिले साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र बुझाउन ऋणीहरूलाई अनुरोध गरेको छ। सहकारी ऐन, २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ। बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्यका साथ ऋणीबाट उठ्न बाँकी रकम संकलन आवश्यक रहेको भन्दै समितिले समयमै कर्जा चुक्ता गर्न सबै सम्बन्धित पक्षलाई ताकेता गरेको हो। यसै क्रममा समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र जमानीकर्तालाई पनि तत्काल समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र कर्जा नतिरे वा सम्पर्कमा नआए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समितिले दिएको छ।