काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ मा एक ५५ वर्षीया पूर्व दलित महिला वडा सदस्यमाथि बोक्सीको आरोपमा भएको अमानवीय र बर्बरतापूर्ण घटनाप्रति जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गत वैशाख १९ गते शनिबार साँझ करिब ७ बजेको समयमा स्थानीय १५ देखि २० जनाको समूहले पूर्व वडा सदस्य अंकलियादेवी मुसहरिनलाई चरम कुटपिट गरी बलपूर्वक मलमुत्र खुवाएको घटना सार्वजनिक भएको हो।
स्थानीय पुकार माझीको घरमा आयोजित विवाह समारोहमा एक बालकलाई सामान्य वान्ता भएको विषयलाई लिएर अंकलियादेवीले जादुटुना गरी मार्न खोजेको आरोप लगाइएको थियो। सोही निहुँमा उनीमाथि निर्मम ढंगले कुटपिट गरिएको र बलपूर्वक मलमुत्र खान विवश पारिएको मोर्चाले जनाएको छ।
मोर्चाकी संयोजक रुपा सुनारद्वारा जारी प्रेस विज्ञप्तिमा यस घटनाले २१ औँ शताब्दीको मानव सभ्यता र कानुनी राज्यको उपहास गरेको उल्लेख छ। मोर्चाले अपराधमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग राखेको छ । मोर्चाले पीडितलाई पर्याप्त सुरक्षा र उचित क्षतिपूर्तिसहितको न्याय प्रदान गर्नुपर्ने, घटनालाई राजनीतिक आडमा ढाकछोप गर्ने वा मिलापत्रका नाममा अपराधी जोगाउन खोजिए कडा विद्रोहमा उत्रिने चेतावनी दिइएको छ।
विज्ञप्तिमा दक्षिण एसियामा जरो गाडेर बसेको जात व्यवस्थालाई पूर्णरूपमा उन्मूलन नगरेसम्म यस्ता अपमानजनक र हिंस्रक घटनाहरूको अन्त्य नहुने भन्दै वैज्ञानिक समाजवाद निर्माणको बाटोमा लाग्न सम्पूर्ण न्यायप्रेमीहरूलाई अपिल समेत गरिएको छ।
