काठमाडौँ । देशकै प्रमुख आयात नाका वीरगन्ज भन्सारको सेवा प्रवाह पछिल्लो एक सातादेखि प्रभावित बनेको छ। भन्सार जाँचपास प्रक्रिया अवरुद्ध हुँदा १४ सयभन्दा बढी मालवाहक सवारीसाधन रोकिएका छन्।
भन्सारमा आउने वस्तुहरूमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णयपछि आयातकर्ता तथा निर्यातकर्ताले विरोध जनाउँदै जाँचपास प्रक्रियामा सहभागी हुन छाडेका कारण समस्या उत्पन्न भएको हो। अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी र फलफूलबाहेक अन्य सामग्रीको जाँचपास ठप्पजस्तै भएको छ। गत वैशाख १५ गतेदेखि लागू गरिएको एमआरपी प्रावधानविरुद्ध व्यवसायी असन्तुष्ट छन्। त्यसयता भन्सार प्रक्रियामा आवश्यक फाराम भर्ने र घोषणा गर्ने कार्यमा उनीहरू सहभागी नहुँदा जाँचपास रोकिएको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार दैनिक करिब दुई सयभन्दा बढी मालवाहक सवारी थपिँदा अहिले औसतमा १४ सय जति सवारी जाँचपासको प्रतीक्षामा रहेका छन्। उनले भन्सार कार्यालय जाँच प्रक्रिया अघि बढाउन तयार भए पनि आयातकर्ताको असहभागिताका कारण समस्या लम्बिएको बताए। यसका कारण भारतको रक्सौल क्षेत्रमा समेत सवारीसाधनको लामो लाइन लागेको छ। एकीकृत सुरक्षा भन्सार जाँचचौकी व्यवस्थापन गर्दै आएको टीआरएस हिमालयन लजिस्टिक पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले समस्या छिट्टै समाधान हुनुपर्ने आवश्यकता औंल्याए। वीरगन्ज भन्सारले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले समस्या दीर्घकालीन रूपमा रहिरहे राज्य र व्यवसायी दुवैलाई नोक्सानी हुने भन्दै तत्काल समन्वय गरेर समाधान गर्न आग्रह गरेका छन्।